साहित्य

गस्ती!

 

                                              डा सुरेन्द्र सिटौला                कविता

किन हो घर सुनसान छ
घरको रौनक रित्तिएर
घरमा रिक्तताको सान छ
हरितालिकाको लहै लहैमा
नातिनीले घर छोडेकी छ
मामा घर रोजेकी छ
बूढो हजुरबालाई
एक्लै बूढो घरमा छोडेकी छ

त्यसैले त होला
आज भोलि घरमा
खुसिको सुर्य उदाउदैन
खुसी बोकेर नातिनी सगै
सुर्य मेरो कोठामा आउदैन
नातिनीको कोमल हातले
मेरो कान समाउदैन
अबोध आनन्दको उनको छाया
मेरो छेउ आउदैन
नातिनीको सामिप्यता गुमाउदा
हजुरबा!
रमाउने बहाना पाउदैन

टाढा मामाघर छन रे उनी
उनका साना गुच्चे आखाले
अब मलाइ देख्दैन
बेचैनमा छु म
मेरो रहरको कथा
समयले लेख्दैन
मलाइ थाहा छ
मेरो अनित्य मायाले
उनको गति छेक्दैन

उनको खुसीको हुकुममा
नाच्ने मेरो मन
उनको दादागिरी खप्न
फुर्किने मेरो तन
आज एक्लै
आफैमा अलमल्ल छ
तैपनी!
काल्पनामा नातिनीको मुहार
हजुरबाको मन भित्र
सधै झलमल्ल छ

गजब छ शृष्ठीको जादु
उनी घरमा नहुदा
सन्नाटाको औँशीमा तर्छदै
म सधै झस्की रहन्छु
पुर्णिमाको जुनमा
नातिनीको अनुहार सम्झदै
म भित्र भित्रै मस्की रहन्छु

यस्तो बेला नातिनी हराउँदा
हरितालिकाको कथा याद आउँछ
यस्तै बेला त हो
संस्कारको बालक समाजमा रमाउछ
सुन्छु !
हरितालिका तीज मनाउदै नातिनी
अन्तै कतै मस्तिमा छन्
हराएकी नातिनी खोज्न
मेरा भावनाका पहरेदारहरु
चौबीसै घण्टा आज भोलि
लगातार गस्तीमा छ्न्