प्रवास

युएईमा कोरोना सङ्क्रमणबाट थप पाँच नेपालीको मृत्यु

२१ भदौ, काठमाडौँ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ९८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ । सङ्घ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो । सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको सङ्घले जनाएको छ ।