राजनीति

तरुण दलको ‘हुनेले दिनुस्, नहुनेले लानुस्’ कार्यक्रम रोकेकोमा काँग्रेस युवा नेता उदय सरकारसँग आक्रोशित

२१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले तरुण दल क्षेत्र नम्बर १ले गरेको हुनेले दिनुस् नहुनेले लानुस् कार्यक्रम रोकेकोमा नेकपा नेतृत्यको केपी शर्मा ओली सरकारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
तरुण दलका पुर्व केन्द्रीय अध्यक्षसमेत रहेका उनले भनेका छन्, ‘नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ । चैत ११ देखि चार महिना लामो लकडाउन व्यहोरेका नागरिक, साउनमा केही खुकुलो भएपनि भदौदेखि फेरी घरभित्रै बस्न बाध्य छन् । सरकारले कोरोना नियन्त्रणका लागि सजिलो विकल्पका रुपमा लकडाउनलाई लिएको छ । तर लकडाउनका कारण मजदूर, श्रमिक वर्ग, डेरावाल, विद्यार्थीको दैनिक जनजीवनमा परेको असर बारे सरकार बेखवर जस्तै छ । नागरिकहरु रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्तामा छन् ।’
युवा नेता राणाले सरकारी तहबाट कुनै राहत नपाइरहेका बेला नागरिकस्तरबाटै राहत वितरणका कार्यक्रम हुनु स्वागतयोग्य भएको दाबी गर्दै ‘कोही पनि भोकै नरहुन्’ भन्ने पवित्र मनसायले नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले स्थानीय तहसँगको समन्वयनमा यहि भाद्र ९ गते देखि चापागाउँमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
उनले जिकिर गरेका छन्, ‘‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने मानवीय अभिप्रायबाट सुरु गरिएको फुड बैंक ललितपुरमा मात्र सीमित नभएर देशभर चर्चामा आयो । सामाजिक दूरी कायम गर्दै नेपाल तरुण दलले सामाजिक सेवाभावले सुरु गरेको फुड बैंक कुनै राजनीति अभिप्रायबाट प्रेरित थिएन ।’
युवा नेता राणाले ‘फूड बैंक’मा नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा बढ्दो सहभागिताले यसको लोकप्रीयता र सार्थकतालाई पुष्टि गरेको जनाउँदै नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले सुरुवात गरेको फुड बैंकको अवधारणाको सिको गर्दै देशका विभिन्न जिल्लामा यही प्रकृतिको अभियान सुरु भइरहेका छन्, जुन प्रशंसनीय छ भनेका छन् ।
उनले ललितपुरमा भने यो नमुना कार्यक्रममा विना कुनै कारण प्रशासनबाट रोक लगाइनु अत्यन्तै निन्दनीय मात्र होइन, मानवीय संवेदनाहीन कार्य हो भन्दै सरकारको गैरजिम्मेवारपूर्ण कार्यप्रति खेद व्यक्त गरेका छन् ।
पुर्व अध्यक्ष राणाले सरकारी तहबाट सञ्चालित हुनुपर्ने कार्यक्रम नागरिकस्तरबाट स्वतफूर्तरुपमा सञ्चालन गर्दा राज्यले त्यसमा हौसला बढाउनुका साँटो अमूक राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु कति न्यायोचित होला ? भन्दै प्रश्न गरेका छन् ।
उनले ‘कोरोना संक्रमणबारे सचेत रहँदै सामाजिक दूरीसहित सञ्चालित कार्यक्रममा सरकारले रोक लगाउनुको कारण के हो ? कसको निर्देशनमा किन प्रशासनले कार्यक्रममा रोक लगायो ?’ भन्दै आक्रोश पोखेका छन् ।
नेता राणा के कुनै राजनीतिक दललाई सामाजिक कार्य गर्न सरकारले बन्देज लगाएको हो? प्रशासन नागरिकको सेवाका लागि वा कुनै अमुक राजनीतिक दलका नेताहरुको निर्देशनमा चल्न ? राहतका लागि एकाबिहानै लाइन लाग्ने ती गरिव, मजदूरहरुको पीडाले पोल्दैन तपाईहरुलाई ? भन्दै जंगीएका छन् ।
पुर्व अर्थराज्यमन्त्री राणाले चेतावनी दिँर्दै भने्, ‘कोरोना कहरका कारण समस्यामा परेका हरकोही नागरिकको सेवा गर्नु हामी सबैको दायित्व हो । त्यसमा पनि राजनीतिक दलको मूल कर्तव्य नै हो । म नेपाली कांग्रेस ललितपुरका तरुण दल लगायतका तमाम साथीहरुलाई स्थानीय सरकारसँग समन्वय गर्दै समस्यामा परेका हरकोही नागरिकको सहयोगमा जुट्न अपील गर्दछु र प्रशासनलाई राजनीतिक आस्थाका आधारमा विभेद नगर्न पनि चेतावनी दिन्छु ।’

-तरुण दलको ‘हुनेले दिनुस्, नहुनेले लानुस्’ कार्यक्रम