प्रवास

जयतु संस्कृतम्को शाखा बेलायत र अष्ट्रेलियमा

२० भदौ, काठमाडौँ । जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान बिस्तारमा उपयोग गरिने भएको छ । संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको आज जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा सस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए । यसै वर्ष बेलायत र अष्टे«लियामा शाखा गठन गर्न त्यहाँ रहेका संस्कृत प्रेमीले इच्छा व्यक्त गरेको र निकट भविष्यमै गठन गर्न लागिएको उनले बताए ।

विश्वमा सबैभन्दा पुराना ग्रन्थ संस्कृत भाषामा रहेकाले यसप्रति विश्वव्यापी रुपमा आकर्षण बढ्न थालेकाले शाखा खोल्न लागिएको उनले बताए । भाषामात्र नभई वाङ्मयकै स्वरुप ग्रहण गरेको संस्कृतमा धेरै ग्रन्थ समेत लेखिएका छन् । अन्तरक्रियामा सहभागी भएका पीपलमणि सिग्देलले अमेरिकाबाट जयतु संस्कृतम्लाई विश्वव्यापी रुपमा फैल्याउन लागिएको जानकारी दिए । कोरोनाबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीकाबीच जुम प्रविधिबाट नै संस्कृत प्रशिक्षण गर्न सकिने उनको सुझाव थियो ।

कार्यक्रममा सांसद उमेश श्रेष्ठले प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई संस्कृत लोकभाषा अभियानमा सहभागी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । धर्म, संस्कृतिको भण्डार रहेको संस्कृत भाषा संरक्षणका लागि नीति निर्माण एवं कार्यान्वयन तहबाट समेत सहयोग जुटाउन आफू लाग्ने उनले बताए । नेपाल संस्कृत विश्वविद्यालय नेपाल प्राध्यापक संघका अध्यक्ष शम्भुराज गौतमले अर्को हप्ता संस्कृत वाङ्मयको उन्नयनका लागि वाङ्मय विमर्श कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

प्याब्सनका सह अध्यक्ष डीके ढुङ्गानाले आफ्नो विद्यालय रेडियन्ट रिडर्स एकेडेमीमा चार वर्षअघिदेखि नै संस्कृत पठनपाठन भइरहेको बताए । बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पाले संस्कृत भाषा अध्ययन गर्दा मानवका लागि फाइदा हुने भएकाले धर्म, राजनीति, जातीयता आदिको घेराभन्दा माथि उठेर यसलाई हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत भाषामा रहेका प्राचीन ग्रन्थको अध्ययन अनुसन्धान गरी त्यहाँ भएको ज्ञान जनसमक्ष ल्याइनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व सचिव जनार्दन नेपालले माध्यमिक विद्यालयमा अनिवार्य संस्कृत पठनपाठनको व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अनिवार्य पठनपाठन गर्न सके नैतिक एवं चरित्रवान् नागरिक बनाउन सहयोग मिल्ने बताए ।

संस्कृत लोकभाषा अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले लिच्छविकाल एवं त्यसभन्दा अघिदेखि नै नेपालमा प्रमुख भाषाका रुपमा संस्कृत बोलिने गरेकाले यो लोकभाषा भएको बताए । समयक्रममा यो भाषाको प्रयोग घटेपनि विभिन्न रुपमा यसको प्रयोग भइरहेकाले यो लोकभाषा भएकामा कार्यक्रमका वक्ताले जोड दिएका थिए।
विसं २००४ सालमा तीनधारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान लगायत विषय पनि पढ्न पाउनुपर्छ भनी जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यो नेपालको पहिलो विद्यार्थी आन्दोलन पनि हो ।

सरकारले आन्दोलनकारी विद्यार्थीलाई उपत्यका कटाएपछि निरंकुश जहानियाँ राणा शासनका विरुद्ध देशव्यापी रुपमा जागरण फैल्याउँदै भारतको बनारस पुगेका थिए । पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतको नेतृत्वमा रहेका आन्दोलनकारीले त्यसबेला नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेट गरी नेपालमा प्रजातन्त्र स्थापनामा सहयोग गरेका थिए । आन्दोलनको स्वर्ण महोत्सवको अवसरमा २०५५ सालमा जयतु संस्कृतम् नामक संस्था स्थापना भएको हो । संस्थाले संस्कृतको प्रवद्र्धनका लागि गतिविधि गर्दै आएको छ ।