मनोरञ्जन

अभिनेता सुशान्तसिंह मृत्यु प्रकरणः अभिनेत्री रियाका भाइ र पुर्वम्यानेजर पक्राउ

२० भदौ, एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको छ ।

सुशान्त मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो। यो प्रकरणमा सिबीआईले अनुसन्धान गरिरहेको छ । तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो । पक्राउअघि उनीहरु दुवै जनाको घरको खानतलासी पनि लिइएको थियो । एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ ।

एनसिबीले लागुऔषध कारोबारसँग जोडिएका केही व्यक्तिको बयान लिनुका साथै केहीलाई हिरासतमा पनि लिइएको बताइएको छ । गत १४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका थिए । मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो। तर पछि २५ जुलाईमा सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रियाविरुद्ध उजुरी दिएका थिए ।