अन्तर्राष्ट्रिय

सुडानी विद्रोही समूह शान्ति सम्झौताका लागि सहमत ः सरकार

१५ भदौ, खार्तूम । सुडानको मुख्य विद्रोही गठबन्धनले १७ वर्ष लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले सरकारसँग शान्ति सम्झौता गर्न सहमति जनाएको छ ।

सुडानको राज्य सञ्चालित समाचार एजेन्सी सुनाले सोमबार जनाएअनुसार सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ), दाफरको पश्चिमी क्षेत्र र दक्षिण कोरदोफन तथा ब्लु नाइल क्षेत्रमा सक्रिय विद्रोही समूहको गठबन्धनले शनिबार सरकारसँग स्थायी शान्ति प्रक्रियाका लागि सहमतिमा हस्ताक्षर गरेको हो ।

यद्यपि सरकार र उक्त समूहबीच औपचारिक शान्ति सम्झौता भने दक्षिण सुडानको पहल तथा मध्यस्थतामा दक्षिण सुडानको राजधानी जुवामा सोमबार हुनेछ ।
सुडानी विद्रोहीसँग सन् २०१९ को अन्त्यदेखि नै शान्तिका लागि वार्ताहरू चलिरहेका थिए ।

उच्च सरकारी अधिकारी र विद्रोही नेताहरूले ‘सुरक्षा व्यवस्थाको प्रोटोकोल’ लगायतका अन्य प्रारम्भिक विषयहरूमा शनिवार हस्ताक्षर गरेको सुनाले जनाएको छ ।

सोमबार हुने शान्ति सम्झौतामा सरकार र विद्रोहीबीच सुरक्षा, जमिनको स्वामित्व, सङ्क्रमणकालीन न्याय, शक्ति बाँडफाँड र युद्धको कारण आफ्नो घर छोडेर शरणार्थी अवस्थामा रहेका व्यक्तिको फिर्ती जस्ता मुख्य मुद्दाहरू समेट्ने बताइएको छ । सम्झौतामा विद्रोही समूहको भङ्ग गर्दै उनीहरूलाई राष्ट्रिय सेनामा एकीकरण गर्नेलगायतका सहमति हुने विश्वास गरिएको छ ।

समाचार एजेन्सीले सुडानका प्रधानमन्त्री अब्दाल्ला हमदोक र धेरै मन्त्रीहरू आइतबार जुवाको लागि उडान गरिसकेका बताएको छ ।

विद्रोही सेनाले सरकारले ठूलो समूहलाई वेवास्था गर्दै आर्थिक र राजनैतिकरूपमा नागरिकलाई भेदभाव गरेको भन्दै समानताका लागि हतियार उठाएको बताउँदै आएको थियो ।

उनीहरू धेरै हदसम्म गैर–अरब अल्पसंख्यक समूहका नागरिक हुन् । उनीहरूले खार्तुममा बन्ने सरकारहरूको अरब प्रभुत्वविरूद्ध लामो समयदेखि प्रदर्शन गरेका बताउँदै आएका थिए । उनीहरूको आन्दोलनका कारण लामो समयदेखि सुडानमा राष्ट्रपति रहेका ओमर अल बशीर पनि गत वर्ष सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २००३ मा विद्रोहीहरूले त्यहाँ हतियार उठाएदेखि लगभग दाफरमा करिब तीन लाख सुडानी मारिएका संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सन् २०११ मा दक्षिण कोर्डोफान र ब्लु नाइल क्षेत्रमा द्वन्द्व सुरु भएको थियो । सन् १९८३ देखि २००५ सम्म भएको सुडानको गृहयुद्धमा उठेका विषयलाई वेवास्था गरिएको भन्दै दक्षिण कोर्डोफान र ब्लु नाइल क्षेत्रमा द्वन्द्व सुरू भएको हो ।

सन् २०१९ को अप्रिलमा तत्कालिन शासक बसीरको पतनपछि सत्तामा आसिन सुडानको सङ््क्रमणकालीन सरकारको लागि प्रमुख उपलब्धि हो ।