समाचार

प्रदेश नं १ मा ५६, प्रदेश नं २ मा १९६ र कर्णालीमा ४० जनामा काेराेना संक्रमण

१५ भदौ, विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ५६ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १७ महिला ३९ पुरुष छन् ।
नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा २६, मोरङमा १७, सङ्खुवासभामा नौ र झापामा चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेहरु सुनसरीको धरानमा छ महिला र १४ पुरुष, कोशी गाउँपालिकामा तीन पुरुष, देवानगञ्ज र इनरुवामा एकएक पुरुष, इटहरीमा एक महिला, मोरङको विराटनगरमा पाँच महिला र छ पुरुष, लेटाङमा एक महिला चार पुरुष तथा बूढीगङ्गामा एक महिलाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

जिल्ला बाहिर सङ्क्रमित हुनेमा सङ्खुवासभाको खाँदबारीका एक महिला र आठ पुरुष तथा झापाको कमलगाउँपालिकामा दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमित तीन हजार ३६७ पुगेका छन् । आज २४ जना कोरोनाबाट मुक्त भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ३९२ जनाको कोरोना परीक्षण भएको छ । हालसम्म ८८ हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा चारको मृत्यु
जनकपुर– प्रदेश नं २मा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु हुनाका साथै १९६ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा महोत्तरीबाट दुई तथा रौतहट र पर्साबाट एकएक जना रहेको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यससमेत गरी प्रदेशबाट कोरोनाबाट सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा सप्तरीबाट एक, धनुषाबाट २९, महोत्तरीबाट सात, सर्लाहीबाट १००, रौतहटबाट दुई, बाराबाट २३ र पर्साबाट ३४ जना गरी १९६ नयाँ सङ्क्रमित थपिएका हुन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार २१८ पुगेको छ । तीमध्ये ८८ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत अहिलेसम्म चार हजार ९३७ जना निको भएर घर फर्केका छन् ।
प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा आजसम्म ७१४ जना तथा होम क्वारेन्टिनमा एक हजार ५८८, आइसोलेशनमा एक हजार १०० र होम आइसोलेशनमा चार हजार ९१ जना बसेका छन् ।
केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ । होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।
कर्णालीमा सङ्क्रमित पुगे दुई हजार
कर्णाली– कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४० कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा सुर्खेतका ३७, जुम्ला तथा बाँके र बैतडीका एकएक गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या दुई हजार ४४२ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ३७ सङ्क्रमितमध्ये चौकुने गाउँपालिकाका एक र गुर्भाकोट नगरपालिकाका ६ जना रहेका छन् भने अन्य सबै वीरेन्द्रनगर नगरपालिकाका हुन् ।
पछिल्लो २४ घण्टामा १५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ८६ पुगेको छ । विभिन्न आइसोलेशनमा ३५० सङ्क्रमित छन् । उनीहरु सबैको सामान्यावस्था रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ५८ हजार ८७६ जनाको पिसिआर विधिबाट कोरोनाको परीक्षण गरिएको छ ।