बाग्मती

लिदी पहिरामा वेपत्तामध्ये ३६ को शव भेटियो

१५भदौ, सिन्धुपाल्चोक । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

कर्मचारीलाई कोरोना प्रभावित स्थानमा आवत–आवतमा रोक
मेलम्ची नगरपालिकामा नगस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण पाँच निर्णय गरेको छ । आजको बैंठकले नगरपालिकाका कर्मचारीलाई काठमाडौँ वा कोरोना प्रभावित स्थानमा आवत–जावतमा रोक लगाउने निर्णय गरेको छ ।

अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि दुई हप्ता होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको छ । बैठकले प्रभावित जिल्लाबाट मेलम्ची प्रवेशका नाकामा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेलाई होम क्वारेन्टिनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ ।

त्यस्तै यही भदौ ९ गतेको निर्णयअनुसार नै बजार खुल्ने र बिक्री वितरण गर्ने निर्णयलाई यही भदौ १७ गतेसम्म यथावत रहने निर्णय भएको नगर प्रमुख अर्यालले जानकारी दिए ।

मेलम्ची आयोजनाका समस्या समाधानका लागि वार्ता समिति गठन

मेलम्ची खानेपानी आयोजनाका सबै समस्या समाधान गर्न र मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरणपश्चात् लेभी निर्धारण र अन्य विविध समस्या समाधानका निम्ति सरोकारका बिषय समेट्दै सांसद शेरबहादुर तामाङको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको छ ।

पूर्व कानुनमन्त्री तामाङको संयोजकत्वमा मेलम्ची खानेपानी लेबी निर्धारण संयोजन तथा वार्ता समिति गठन गर्दै उक्त बैठक सम्पन्न भएको हो । मेलम्ची खानेपानी आयोजनाको पहिलो र दोश्रो चरणको आयोजनामार्फत पानी काठमाडौँ पथान्तरणपश्चात् स्थानीय जनतालाई लेबी दिनुपर्ने र त्यसका निम्ति सबै एकमत रहनुपर्ने र उक्त क्षेत्रमा विकासका निम्ति राज्यले अनुदान दिनुपर्ने, आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने तथा नाफाको बाँडफाँड नभइ निश्चित लेबी दीर्घकालिनरुपमा दिनुपर्नेलगायत एजेन्डामा सबै सहभागीको साझा धारणा रहेको सांसद तमाङले जानकारी दिए ।

उक्त बैठकमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची सबैको साझा बिषय रहेकाले सामूहिकरुपमा अगाडि बढ्दा समस्या समाधानका निम्ति वातावरण सहज हुने बताए । सो छलफलमा उपस्थित सबैले एकतावद्धरुपमा अगाडि बढ्दा मात्र उपलब्धि हासिल हुने भन्दै स्थानियका मागका सबालमा जस्तोसुकै चूनौती सामना गर्नुपरे पनि तयार रहनुपर्नेमा सम्पुर्ण सहभागीले जोड दिए।

सो समिति सदस्यमा सामाजिक विकासमन्त्री दुलाल, पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य लारक्याल लामा, दावा तामाङ, डोल्मा तामाङ, चलनबहादुर तामाङ, प्रदेशसभा सदस्य द्वय निमा लामा र इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङ, हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा, पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा ह्योल्मो, इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ, बुद्धिजिवी हस्त पण्डित, जिमि लामा, उदय सापकोटा, कानूनविद् बालकृष्ण देउजा, सरोकार समिति ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समिति अध्यक्ष विष्णुमणी आचार्य, ह्योल्मो खानेपानी सरोकार समितिका अध्यक्ष भालु शेर्पा, राजनीतिक दलका तर्फबाट नेकपा क्षेत्रीय कमिटी अध्यक्ष मित्रलाल चौलागाईं, नेपाली काँग्रेस क्षेत्रिय सभापति आईतमान तामाङ र राप्रपा क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल रहेका छन् ।