समाचार

प्राविधिक तालीम खारेजको निर्णय दुःखद्ः नेविसङ्घ

१५ भदौ, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइईस्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताएका छन् । “प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालीम बन्द गर्दा ठूलो अन्योल छाएको छ”, ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घले हाल कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्रभागमा कार्यरत सिएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालीमरत १२ हजार विद्यार्थीलाई आतङ्कित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक विषय भएको बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले खुलेका शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न गर्दै जानुपर्नेमा सीपमूलक तालीम बन्द गर्नु सरकारको गैरजिम्मेवारी कार्य भएको उल्लेख गरे ।