मनोरञ्जन

मोरङकी सज्जा चौलागाईं बनिन् ’नेपाल आइडल सिजन ३’ की विजेता

१३ भदौ, काठमाडौं । मोरङकी सज्जा चौलागाईं ’नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । शुक्रबार ग्रान्ड फिनालेमा सज्जाले प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै उपाधि जितेकी हुन् ।

त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बनेका छन् । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए । विश्वभर फैलिएको कोरोनाक कारण गरिएको लकडाउनले गर्दा वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो ।

लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

ग्रान्ड फिनालेमा सज्जाले एल्बरट्रसको ’निश्चल’बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिपछि निर्णायक इन्दिरा जोशी र न्ह्युँ बज्रचार्यले आफ्नो स्थानमा उठेर उनको गायकिको प्रशंसा गरेका थिए । एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार हुँदै आएको नेपाल आइडलका निर्णायक मण्डलमा कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी तथा न्ह्यु बज्राचार्य छन् ।