विचार/ब्लग

गुटबन्दी अन्त्य/कम्युनिष्ट पराजयका लागि काँग्रेसमा सभापति सर्बसम्मत जरुरी

बाबुराम आचार्य/ नेपाली काँग्रेसले फगुन ७ गते आफ्नो १४ औं महाधिवेशनको मिति तोकेको छ । ४ बर्षमा महाधिवेशन गर्नुपर्ने, त्यो समयमा सम्पन्न गर्न नसकिएमा एक बर्ष सार्न सकिने र उक्त समयमा पनि महामारीलगायतका कारण नसकिएमा ६ महिनासम्म महाधिवेशन गर्नै पर्ने बैधानिक ब्यवस्थाअनुसार कोरोना महामारीका कारण महाधिवेशन सम्पन्न गर्न फगुनमा नसकेमा बढीमा ६ महिना समयाबधी थप गरेर भएपनि महाधिवेशन गर्नैपर्ने हुन्छ ।
अहिलेलाई महाधिवेशन फागुनमा नै हुन्छ भन्नुको बिकल्प छैन, किनकी उक्त निर्णय नेपाली काँग्रेस पार्टीले गरेको सर्बसम्मत् निर्णय हो । अर्को उक्त निर्णयलाई उल्ट्याउने कुनै निर्णय भएमामात्र अर्को मिति भनौला । अब कुरा गरौं काँग्रेसको महाधिवेशन कसरी हुँदैछ, उम्मेद्वारहरु को को हुँदैछन् ? भन्ने बिषयमा कुरा गर्दा राम्रो होला । १४ औं महाधिवेशनका लागि सभापतिको लागि म दाबी गर्छु भन्ने नेताहरु नै झण्डै एक दर्जन भईसकेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पहिला दाबेदार र सबैभन्दा बढी १४ महाधिवेशनबाट सभापति बन्नसक्ने प्रमुख सम्भावित हुन्, जसले नेपाली काँग्रेसमा ५० बर्षभन्दा बढी प्रत्यक्ष संघर्ष गरेका छन् । अर्कोतर्फ १३ औं महाधिवेशनमापनि सभापति देउवासँग प्रमुख प्रतिद्वन्दीका रुपमा पराजीत भएका बरिष्ठ नेता रामचन्द्र पौडेल दोस्रा दाबेदार हुन् । बरिष्ठ नेता पौडेल पनि डेढ दशक जेल बसेका कृषि क्रान्तीको विचारलाई जनतासंग लान चाहने देउवाकै सहपाठी हुन् । अर्का सभापतिका प्रत्यासी छन्, उपसभापतिद्वय बिजयकुमार गच्छेदार र बिमलेन्द्र निधी । बिजय गच्छदार मधेशी फोरममा गई पार्टी खोलेर अर्को नयाँ पार्टीका अध्यक्ष भईसकेका नेता हुन् । नेपाली काँग्रेसको उसभापति भईसकेकाले उनी स्वतः पार्टी सभापतिमा आफूले दाबी गर्ने देखिन्छ, नेता गच्छेदारले आफू सभापतिमा लड्ने वा नलड्ने भन्ने घोषणा नगरे पनि उनी अधिवेशनको मुखमा बोल्ने सम्भावना बलियो देखिन्छ । सभापति देउवासँग लामो समयदेखी निकट रहेर काँग्रेस राजनीतिमा सकृय रहेका उपसभापति निधि पनि महेन्द्र नारायण निधिका पुत्र हुन् । ०७४ सालको संघीय निर्बाचनमा प्रतिनिधि सभामा काँग्रेसको अवस्था खुम्चिएपछि उनले पनि हार व्यहोरेका थिए । उनी नेविसंघको अध्यक्षदेखी लामो राजनीतिक यात्रामा होमिएका नेता हुन् । उपसभापति निधिले सभापति देउवासँग आफू सभापतिमा लड्ने हुँदा आफूलाई सघाउन आग्रह गरिसकेका छन् । निधिले घोषणा नै गरिसकेपछि उनी पनि सभापतिका उम्मेद्वार भईगए ।  १४ औं महाधिवेशनमा समूह नै बनाएर पार्टी सभापतिमा उम्मेद्वारी दिएका पूर्बमहामन्त्री कृष्ण प्रसाद सिटौलाले काठमाडौंको महाराजगञ्जमा सम्पर्क कार्यालय नै खोलेर आफू सभापतिमा लड्ने संकेत दिएका छन् । उनले समय नआएकाले सभापतिमा लड्ने खुलस्त नगरेपनि उनको कार्यकर्तासँगको भेटघाट र साँठगाँठका कारण आगामी अधिवेशनमा उनी निश्चय नै सभापतिमा उम्मेद्वारी दिने मुडमा देखिन्छन् । पुर्ब महामन्त्री तथा त्यागी नेता गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले आफू सभापतिमा लड्ने घोषणा नै गरिसकेका छन् । उनले मिडियामा प्रधानमन्त्री र सभापतिका लागि आफू योग्य रहेको बताईसकेका छन् । नेता सिंह पनि घोषणा नै गरिसकेपछि काँग्रेस सभापतिका लागि प्रत्यासी भईहाले ।
अब नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले आफूहरु आफ्नो समूहसँग छलफल गरेर साझा उम्मेद्वारी दिने बताएपनि महामन्त्री डा कोईरालामा सभापतिको उम्मेद्वारी सहमती नभएमा कार्यकर्ताको दबाबका कारण उनले सभापतिमा उम्मेद्वारी दिने बलियो सम्भावना देखिन्छ । बरिष्ठ नेता पौडेल समुहबाट १३ औं महाधिवेशनमा निर्बाचित महामन्त्री बनेका शसाँक महामानव तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोईरालाका पुत्रपनि भएकाले काँग्रेस नेताकार्यकर्ताको भावनात्मक सम्बन्ध अली बढी नै छ । सभापति शेरबहादुर देउवाले नै मनोनित गरेका नेपाली काँग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्का शसक्त र लडाकु शैलीका नेता हुन् । गृहमन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिसकेका महामन्त्री खड्काले सभापतिमा आकाँक्षा देखाउनुलाई स्वभाविक मान्न सकिन्छ। स्वर्गीय काँग्रेस नेता खुमबहादुर खड्काको उत्तराधिकारीको रुपमासमेत नेता खड्कालाई हेर्ने गरिएको छ । १३ औं महाधिवेशनमा सभापति देउवा प्यानलबाट महामन्त्रीमा निर्बाचन लडेर हार ब्यहोरेका काँग्रेस कार्यकर्तामाझ लोकप्रीय बनेका अजुननरसिंह केसीले सभापतिमा उमेर्द्वारी दिने निकट कार्यकर्तामाझ बताईसकेका छन् । कोईराला समूहसँग लामो समय नजिक रहेपनि १३ औं महाधिवेशनमा देउवासंग नजिक बनेर महामन्त्रीको उम्मेद्वार बन्न सफल भएका नेता केसी पछिल्लो समयमा भने पौडेल समूहमा छन् । नेपाली काँग्रेस ०४६ सालको जनआन्दोलनपछि लामो समय सत्तामा बस्नु र त्यसको अर्थमन्त्रालय चलाउने मौका पनि लामो समय नै पाउनुका कारण झण्डै आधादर्जन पटक अर्थमन्त्री भईसकेका डा रामशरण महतले आफू सभापतिमा भए नेपालको अर्थतन्त्रले थप सकारात्मक रुपमा कोल्टे फेर्ने संकेत गरेका छन् । पछिल्लो समयमा भएका सकारात्मक अर्थतन्त्रका संकेतहरुको नेतृत्व डा महतले गरेको अर्थविदहरुले बताउने गरेका छन् । डा महत पनि बरिष्ठ नेता पौडेल समूहसँग जोडिएका छन् । डा महतले सभापतिमा उम्मेद्वारी घोषणा नगरेपनि संकेत भने दिएका छन् । एकताका देउवासँगै फुटेर गएको नेपाली काँग्रेस प्रजातान्त्रीकमा उपसभापति भईसकेका गोपालमान श्रेष्ठ पनि नेतृत्वका लागि दाबी गर्दैनन् भन्ने छैन ।
अर्का कोईराला परिवारका सदस्य तथा प्रभावशाली काँग्रेस नेता डा शेखर कोईरालाले अगाडी देखी नै सभापतिमा आफू लड्ने संकेत दिँदै देश दौडाहा गरेका छन् । नाकाबन्दी र भुकम्पमा अनि बाढीपीडितका घरदैलोमा निस्केका अनि कोरोना संक्रमणको महामारीपनि सकृय रहेका डा कोईराला देशभरका कार्यकर्तामाझ पनि लोकप्रीय नै छन् । बिराटनगरमा कोईराला निवासमा पत्रकार सम्मेलन गरेर बेला बेलामा गिरिजा प्रसादको झल्को दिने भन्ने कार्यकर्ताको उपमा पाउने डा कोईराला काँग्रेसलाई सुधार्न नेतृत्वमा आफू पुग्नुपर्ने स्पष्ट संकेत गर्छन् । कोईराला परिवारकी अर्की सदस्य तथा नेपाली काँग्रेसकी शक्तीसाली नेता स्व. गिरिजा प्रसाद कोईरालाकी पुत्री सुजाता कोईराला भने १४ औं महाधिवेशनमा काँग्रेस सभापतिमा दाबी गरेकी छैनन् । क्यान्सर रोगका कारण महत्वपूर्ण कार्यक्रमबाहेक उनी निष्कृय छिन् । नेपाली काँग्रेसमा प्रतिपक्षी दलको एकल प्रतिपक्ष भनेर चिनिने युवा नेता गगन थापाको आउदो महाधिवेशनमा प्रवल सम्भावना नहुने कुरै भएन । जनताले अधिक मनपराएका केन्द्रीय सदस्य थापा १३ औं महाधिवेशनमा कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा लडेर पाँच सय भन्दा बढी प्रतिनिधिहरुको मन जित्न सफल भएका नेता हुन् । प्रखर वक्ता तथा काँग्रेसको भविश्यसंग जोडिएका युवा नेता थापाको नेतृत्वमा आकाँक्षा स्वभाविक नै देखिन्छ । अर्को काँग्रेस प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले नेतृत्वमा लड्ने नलड्ने कुनै नबोलेपनि जनताले गगनसँगसँगै नाम लिने नेतामा उनी पर्दछन् । नेता शर्मा नेविसंघको अध्यक्ष भईसकेका र लेखन, वाक शैली राम्रो भएका नेतामा गनिन्छन्, उनले पनि नेतृत्वमा आउने दाउ लगाएका छैनन् भन्नु असत्य हुन्छ ।
यसभन्दा अगाडी नरहरी आचार्य र भीमबहादुर तामागंले नेपाली काँग्रेसमा तेस्रो धारबाट सभापतिमा समूह बनाई उम्मेद्वारी दिएका भएपनि १४ औं महाधिवेशनमा सभापतिका आकाँक्षीहरु धेरै देखिएका छन् । केहि नेताहरु महामन्त्री, उपसभापति लगायतका भाईटलमा रहने देखिएपनि अधिकाँस नेताहरु नेतृत्वबाट पछाडि हट्ने सम्भावना देखिन्न । नेपाली काँग्रेसले पछिल्लो स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा लज्जास्पद हार ब्यहोरेपनि चेत खाएको देखिन्न । काँग्रेस नेताहरु पार्टी सुधार्न, लोकतनत्रलाई बलियो बनाउने भन्दा आफू कसरी नेतृत्वमा पुग्ने भन्ने देखिन्छन् । मुलुकमा एकातिर कोरोना भाईरसको महामारीका कारण जनता आक्रान्त छन् भने अर्कोतिर झण्डै दुईतिहाई मतको कम्युनिष्ट सरकारका कारण मुलुक नै कम्युनिष्टीकरण हुने हो कि भन्ने डर भईरहेको बेला प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको काँग्रेस सरकारले गरेका गलत कृयाकलापको खरो रुपमा प्रतिबाद गर्न सकिरहेको देखिन्न । काँग्रेसले आफ्नो पुरानो साख जोगाउन सभापतिमा सहमती निर्माण गनुपर्ने देखिन्छ । सभापतिमा हुने यस्ता प्रकारका प्रचारले पार्टीलाई राम्रो गर्दैन । १० बर्ष कृयाशील सदस्य भएकोलाई सभापति लड्ने अधिकार हुन्छ, जोकुकै लड्नाले काँग्रेसको गरिमामा नै आघात पुग्न सक्छ । त्यसैले आगामी १४ औं महाधिवेशनमा अन्य पदहरुमा निबार्चन भएपनि सभापतिमा भने जसका नाममा भएपनि सर्बसम्मत निर्णय गर्नु नै उपर्युक्त हुन्छ । सभापतिमा सर्बसम्मत निर्णय भएमा बिगतदेखीका काँग्रेसमा देखिएमा मुख्य गुटहरु हट्नेछन् र बाँकीरहेका उपगुटहरु सभापति सर्बसम्मत् नेता भएपछि बिस्तारै हट्दै जानेछन् । सबैले त्याग गरि कांग्रेसलाई बलियो बनाउन नलाग्ने हो भने लोकतन्त्र धरापमा पर्छ, काँग्रेस धरापमा पर्नु भनेको लोकतन्त्र धरापमा पर्नु हो । काँग्रेसमा सभापति चलाउन योग्य नेताहरु यहाँ नाम नलिएका भनि धेरै छन् तर एउटा पदका लागि बिषम परिस्थितिलाई मध्यनजर गर्दै लड्नु कत्तिको उपर्युक्त हुन्छ त्यो विचारणीय छ । यस बिषयमा सम्बन्धीत नेताहरुले चिन्तन गर्नुपर्छ ।