पर्यटन/संस्कृति

थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा मुयमन्त्री पोखरेलको शुभकामना

७ भदौ, दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भ्रातृत्व र सद्भावको वातावरण बनेको बताएका छन् ।

थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिन शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको बताएका छन् । उनले यी नै नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेकोसमेत बताएका छन् ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारू समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको भन्दै यसका लागि नै संवैधानिकरूपमै थारू आयोगको गठन गर्ने व्यवस्था गरेर थारू समुदायप्रति सम्मान व्यक्त गरेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्व महामारीका रूपमा आएको कोभिड–१९ विरुद्धको सङ्घर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्दै सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगका लागि अपिलसमेत गरेका छन् ।

प्रदेश सरकारले थारू समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।