पर्यटन/संस्कृति

आज तिज, कोरोना कहरकाबीच यसरी मनाउँदै छन् नेपाली महिलाहरु !

५ भदौ, काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज, आज मनाईँदै छ । कोरोना कहरकै बिच भाद्र शुक्ल तृतीयाका दिनमा मनाईने यस हरितालीका तीज पर्व यसबर्ष घरमै महादेवको पुजा आरधना गरि मनाईँदै छ ।

आजको दिन भगवान शिवको पुजा आरधना गरी नाचगान गर्ने चलन छ, भने निर्जला व्रत वसी शिव–पार्वतीकोे पुजा– उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास पनि रहेको छ । साथै आजकै दिन सत्ययुगमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास समेत रहेको छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा–मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । साथै तिजको दिन दिनभर निराहार ब्रत बसि नाचगान गरी रमाउने गर्दछन् । भने तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । हिजो बिहिबार दर खाएर औपचारकि रुपमा सुरु भएको तिज ऋषि पञ्चमीसम्म मनाउने परम्परा रहेको छ ।

मुलुकमा जारी निषेधाज्ञाका कारण यसवर्षको तिज भने सुनसान नै रहेको छ । नेपालभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरेकाले सबैले आ–आफ्नै घरमा तिज मनाउँदै छन् । पशुपतिनाथ लगाएत मुलुकका विभिन्न सिवालय मन्दिरहरु पनि आज सुनससान नै छन् ।

सरकारले एकैठाउँमा धेरै जना जम्मा हुन निषेध गरेकाले यसवर्षको तिजमा ब्रतालु महिलाहरु घर बाहिर गएर नाच्ने अवस्था छैन । तै पनि आज घरभित्रै आफ्ना दिदि–बहिनी घरमै टेलिभिजन, रेडियो, डेकहरुमा गित बजाएर भएपनि रमाईरहेका छन् । कोरोनाले मुलुकै ठप्पप र्भपनि नेपाली महिलाहरु भने घरमै भएपनि रमाईरहेका छन् ।