पर्यटन/संस्कृति

सुदूरपश्चिमेलीको मुख्य गौरा र तीज समूहमा मनाउन रोक

डडेल्धुरा, ४ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो ।

नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो । तीज यही भदौ ५ गौरा भदौ १० गते परेका छन् । प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ । प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो ।

निर्णयको उल्लङ्घन हुने क्रियाकलाप कसैबाट भए गरेमा सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३०६ पुगेको छ ।

तीमध्ये ३०२ सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा दुई र नवदुर्गा गाउँपालिकामा दुई सक्रिय संक्रमित छन् । उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।