साहित्य

‘बा’को यादमा

-कल्पना काफ्ले                                 -कविता
‘बा’को ज्वारी हरबखत नै याद गर्थ्यो किलाले
बेते लौरी टुकुटुकु हुँदा साथ खोज्थ्यो हिलाले
खोल्सा खोल्सी वनचहुरले प्रेम खोज्छन् बुबाकै
केटाकेटी घर र सिकुवा खोज गर्छन् वहाँकै ।।

कुद्दै आई जब घर पुगी झट्ट हेर्थेँ सिँगौरो
फुस्रो कालो अलिकति ठुलो कोट लाग्थ्यो अनौठो
गोजी छाम्दा नरिवल हुने झिक्नलाई डराई
कुर्दै बस्दा अति कठिन भै लम्किएँ चोर्नलाई ।

यस्तो लाग्थ्यो पछिपछि बुबा आउनू पो भयो कि
लौरो टेक्दै मुसुमुसु गरी च्याउनू पो भयो कि
डल्ला मिस्री कपकप मिठा कोट भित्रै भेटिन्थे
फल्ने कस्ता सरस रसिला बोट होलान् म ठान्थेँ ।

घोडा भन्दै झटपट गरी काँध चढ्दा खुशीले
आँखा छोप्दै वरपर घुमी कान मोल्थे मजाले
जे जे गर्दा पनि सहजले हाँस्नुहुन्थ्यो मुसुक्क
राम्रा राम्रा सरल कविता भन्नुहुन्थ्यो खुसुक्क ।

छाती तिम्रो हरदिन चढी पुग्दथे टाकुरामा
बाबा तिम्रा पल पल मिठा याद छन् सम्झनामा
सम्झी सम्झी बिगत अहिले भावना जुर्मुराए
उड्दै जाऊँ भुरुरुरु गरी यादमा छट्पटाएँ ।