पु.समाचार

राष्ट्रकवि घिमिरेको १०१ बर्षको उमेरमा निधन

२ भाद्र, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । १०१ बर्षको उमेरमा आज ५.५५ बजे उहाँको निधन भएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छुनु भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उहाँका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उहाँले लेख्नुभएको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो । अश्वत्थामा९अङ्ग्रेजी० कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।

घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उहाँका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।
राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो । उहाँले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ ।
अल्पायुमै पत्नी गौरीको निधन भएपछि उहाँले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गर्नुभयो जुन उहाँको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उहाँले महाकाली घिमिरेसंँग विवाह गर्नुभयो ।
लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडौँ आउनुभएका घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उहाँ नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती हुनुहुन्थ्यो । उहाँको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।
विसं २०७४ माघ २६ गते उहाँलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गर्नुभएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो ।
उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ ।