राजनीति

काँग्रेसको आक्रोशःसुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो दोषी कि सरकार जिम्मेवार ?

३१, श्रावण, काठमाडौं । नेपाली काँग्रेसले राज्यको ब्यस्तता कि राज्यको बेवास्ता ? भन्दै प्रश्न गरेको छ । प्रवक्ता बिश्व प्रकाश शर्माले बिज्ञप्ती जारी गर्दै जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? भन्दै अर्को प्रश्नसमेत थपेका छन् ।
काँग्रेसले भनेको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहंदा घटनासँग गांसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली कांग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ ।’

काँग्रेसले सिन्धुपाल्चौकमा गएको पहिरोमा परि मृत्यु हुनेलाई सम्झादैm ‘जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो । यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो । प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो ।’ भनेको छ ।

काँग्रेसले नेकपा नेतृत्वको ओली सरकारलाई कडा र गम्भीर प्रश्न गर्दै भनेको छ, ‘हामी प्रश्न गर्न चाहन्छौं, जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?’

प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले भनेका छन्, ‘कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ । कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोट प्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकार संगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ ।’