समाचार

एक देशले अर्को देशमाथि गर्ने थिचोमिचो र शोषण सैह्य हुँदैनः डा गिरी

३१ साउन, काठमाडौँ । राष्ट्रियताको प्रवद्र्धन र सामाजिक सद्भावका लागि प्रगतिशील लेखकहरुले सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।

प्रगतिशील लेखक सङ्घ, वाग्मती प्रदेश कमिटीले आज भर्चुअलरूपमा आयोजना गरेको ‘राष्ट्रियताको आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका’ विषयक संवादमा सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले आफूहरुले विचार प्रवाह र जागरणको आन्दोलन चलाउँदै आएको उल्लेख गर्दै प्रगतिशीलहरुले अत्याचार र थिचोमिचो नसहने स्पष्ट गरे ।

उनले भने, “एक देशले अर्को देशमाथि गर्ने थिचोमिचो र शोषण सैह्य हुँदैन । नेपालभित्रका जाति र समुदायलाई विभाजित गरेर यहाँको राष्ट्रियता कमजोर बनाउने खेल र षड्यन्त्रबाट बच्नुपर्छ । यी विषयमा हामीले सचेत भएर कलम चलाउनुपर्छ ।” भारतले मिचेको भूमि समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्सा ल्याएकामा उहाँले समर्थन व्यक्त गरे ।

सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलले राष्ट्रियताका लागि प्रगतिशील लेखकहरु अझै सक्रिय हुनुपर्ने र अमेरिकी मिलेनियम सहायता कर्पोरेशसन (एमसिसी) को विरोध गर्नुपर्ने बताए । साहित्यकार नर्मदेश्वरी सत्यालले राष्ट्रियता लेखनीमा मात्रै नभई व्यवहारमा पनि उत्तिकै प्रदर्शन हुनुपर्ने बताए । स्थानीय तहसम्म प्रगतिशील लेखकका पुस्तक उपलब्ध गराउन आग्रह गरे ।

साहित्यकार गोविन्द आचार्यले साहित्य सरल र बौद्धिकहरुका लागि हुनुपर्ने भनेर माओत्सेतुङले भनेको उल्लेख गर्दै जागरणमूलक सिर्जनामा ध्यान दिन आग्रह गरे । सङ्घका महासचिव समीर सिंहले राष्ट्रियताका सन्दर्भमा प्रगतिशील लेखकलाई एक हुन आग्रह गर्दै सङ्घले त्यसको अगुवाइ गर्ने बताए ।