पु.समाचार

लिदी पहिरामा मृतकको सङ्ख्या १६, बेपत्ता २३ जनाको खोजी जारी

३० साउन, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा १३ शव भेटिएको र केहिबेर अघि थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १६ पुगेको हो । अझै २३ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङलगायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरामा बेपत्ता २३ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।