गण्डकी प्रदेश

पहिरामा परी तीनको मृत्युः पुष्पलाल लोकमार्ग अवरुद्ध

३१ साउन, बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक छन् ।

घरमाथिबाट खसेको पहिरामा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रवेश दिलसरा विकका छोरा हुन् । साठी वर्षीया बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ । त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । अविरल वर्षासँगै खसेको पहिराले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ ।