खेलकुद

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

३० साउन, काठमाडौँ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।

एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो । परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताए ।

एक खेलाडीे पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उनको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्नेबारे एन्फाले छलफल गरिरहेको छ । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा फुटबल खेलाडीमा कोरोना देखिएको हो । एन्फाले काठमाडौँ बाहिरबाट आएका ११ खेलाडीलाई क्वारेन्टिन र होटलमा राखेको थियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न भनेको थियो । बिहीबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि आज फेरि परीक्षण गर्दा पनि पोजिटिभ नै आएको एन्फाले जनाएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेपछि आगामी भदौ १ गतेदेखि हुने भनिएको बन्द प्रशिक्षण एन्फाले हाललाई स्थगित गरेको प्रवक्ता राईले बताए । दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो । नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो ।

सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एसियन कपको छनोटका लागि नेपालले प्रशिक्षण थाल्ने योजना बनाएको थियो । हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।