अन्तर्राष्ट्रिय

कुखुराको मासुमा समेत देखियो कोरोना भाईरस

३० साउन, एजेन्सी । पहिलो पटक कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएको छ । चिनियाँ सञ्चारमाध्यम सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएका छन ।

आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार त्यसको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा उनीहरूमा संक्रमण नपाइएको सेन्जेनका स्वास्थ्य अधिकारीले बताएका छन् ।

कोरोना भेटिएको ब्रान्डका अन्य उत्पादनको पनि खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका स्थानलाई निर्मलीकरण गरिररहेको पनि अधिकारीले जनाएका छन् । हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण पाइएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ ।