बाग्मती

वाग्मती प्रदेशमा थपिए ४३ जनामा कोरोना सङ्क्रमित

२९ साउन, मकवानपुर । वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछापलगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा सेढाईले जानकारी दिए।

गौरीटारमा आइसोलेशन कक्ष स्थापना

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज अपराह्न बसेको बैठकले जिल्लामा कोरोना रोगको प्रकोप बढ्दै गएकाले हेटौँडा उपमहानगरपालिका – ६ गौरीटारस्थित रङ्गशालाको प्रशासकीय भवनमा एक सय शय्याको आइसोलेशन वार्ड आज स्थापना गरिएको छ । सो आइसोलेसन कक्ष शुक्रबार बिहानदेखि पूर्ण सञ्चालनमा ल्याइने र त्यसको सुरक्षाका लागि नेपाली सेनाको एक टोलीलाई जिम्मा दिइने केन्द्रका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।