राजनीति

नेकपा अध्यक्षद्वयबिच ४ घण्टा लामो छलफल पनि बिना निष्कर्ष टुंगियो

२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज नौ दिनपछि पुनः छलफल भएको छ । यही साउन २० गतेयता संवादहीनता देखिएकामा आज उनीहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ । पार्टी बिभाजन हुने भन्ने मत्थर भएको भनिएपनि दुई अध्यक्षबिच ४ घण्टा लामो छलफलमा पुरानै प्रस्ताव दोहोरिएकाले समस्या समाधान नभएइको बुझीएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहबीच आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उनीहरुबीच मात्रै छलफल भएको हो । यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए । सो भेटवार्तामा उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आकलन गरिएको छ ।
गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ । यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो ।