बाग्मती

रुवीभ्याली जोड्ने सडक चैत मसान्तसम्ममा बन्छः मन्त्री फुयाँल

२९ साउन, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताएका छन् । ‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्केका मन्त्री फुयालले २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने री काम गरिने बताए ।

मन्त्री फुयाँलले नयाँवर्षका अवसरमा वैशाख १ गते रुवीभ्यालीमा विशेष पर्यटन उत्सव मनाइनेसमेत जानकारी दिए । ‘वैशाख १ गते मोटर चढेर रुवीभ्याली जाऔँ र नयाँ वर्ष मनाऔँ’ भन्ने नारासमेत तय भएको जनाइएको छ ।

रुवीभ्याली मानव विकास सूचकाङ्कमा वाग्मती प्रदेशको सबैभन्दा पछाडि रहेको र हालसम्म सडकले समेत नजोडिएको क्षेत्र भए पनि पर्यटन तथा प्राकृतिक सम्पदाले धनी रहेको मन्त्री फुयाँलले बताए । रुवीभ्यालीमा मोटर पुगेपछि मोटरबाटै हिमशिखरको दृश्यावलोकन गर्न सकिने उनको भनाइ थियो । बाह्र महिना हिउँ पर्ने स्थानमा पनि सहज ढङ्गमा मोटर लान सकिने भूबनोटको फाइदा लिएर रुवीभ्यालीले विकासमा र समृद्धिमा फड्को मार्न सक्ने उनले बताए।

यसै वर्ष काम सक्नेगरी रुवीभ्याली जोड्ने सडकमा पर्ने चार खोलामध्ये दुईमा सङ्घीय र दुईमा प्रदेश सरकारले पुल बनाउने जनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला समन्वय समिति धादिङ, रुवीभ्याली गाउँपालिका तथा धादिङमा रहेका राजनीतिक दल, बुद्धिजीवी, पर्यटन व्यवसायी, नागरिक समाज र विज्ञसहितको उपस्थितिमा सो अन्तरक्रिया गरिएको थियो ।