समाचार

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न प्रेस युनियनको माग

२९साउन, काठमाडौं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युरबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

“अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भने ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहेका बानियाँको मृत्युको खबरले नेपाल प्रेस युनियन मर्माहत भएको बताइएको छ । दुःखद् घडीमा पत्रकार बानियाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा प्रेस युनियनले हार्दिक समवेदना प्रकट गरेको छ ।