पु.समाचार

गृहमन्त्रालयले गर्यो सबै जिल्लाबाट सवारी पास वितरण बन्द

१८ साउन, काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।
कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । “हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।