पु.समाचार

पत्रकार बानियाँको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त

२८ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासङ्घ दिवङ्गत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगत्मा महत्वपूर्ण योगदान पु¥याउनुभएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए । यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौँबाट सम्पर्कविहीन रहेका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डुजलविद्युत् आयोजना स्थलमा आज भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ । महासङ्घले बानियाँको रहस्यमय ढङ्गले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग मागसमेत गरेको छ । साथै महासङ्घले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ ।