बाग्मती

एक सय १३ वर्ष पुरानो कृष्ण मन्दिर अझै पुनःनिर्माण भएन

२७ साउन, सिन्धुपाल्चोक । चौतारास्थित एकसय १३ वर्ष पुरानो कृष्ण मन्दिर अझै पुनःनिर्माण हुन सकेको छैन ।

विसं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको मन्दिर पुनःनिर्माणमा सम्बन्धित निकायले चासो नदिँदा पुनःनिर्माण हुन नसकेको हो । मन्दिर निर्माण तत्काल हुने छाँट नदेखिएपछि स्थानीय युवाले चन्दा सङ्कलन गरेर टहरोको मन्दिर निर्माण गरी पूजाआजा र जात्रा चलाउँदै आएको छ ।

विसं १९६४ मा बनेको पुरातात्विक महत्व बोकेको यो मन्दिर पुनःनिर्माण हुनपर्नेमा सबैले महसुस त गरेका छन् तर कार्यान्वयनमा भने चुनौती रहेको स्थानीय युवा कमलचरण कक्षपतिले बताउनुभयो । एक त आर्थिको स्रोतको अभाव र अर्को सानोतिनो बजेटले नपुग्ने भएकाले पनि मन्दिर ठड्याउन नसकेको कक्षपतिको भनाइ छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ का अध्यक्ष नरमान श्रेष्ठ भने मन्दिर पुुनःनिर्माणका लागि आफू लागि परेको जानकारी दिए । उनले विभिन्न निकाय, दाता र पुरातत्व विभागसँग छलफल गरिरहेको बताए ।

विसं १९६४ मा यो मन्दिर निर्माण भएसँगै हरेक कृष्ण जन्माष्टमी यहाँ भव्य मेला लाग्दै आएको छ । दुई दिनसम्म चल्ने यो मेलामा भजनकीर्तनसहित कृष्णको प्रतिमालाई रथारोहण गर्दै बजार परिक्रमा गर्दै आएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण यसपटक भने जात्रा स्थगन गरिएको कृष्ण गुठीका एक सदस्य सुरेश कसजूले जानकारी दिए । यदपि पूजाआजाका लागि खुला गरिएको यो मन्दिरमा सामाजिक दूरी कायम गरी पूजा गर्न स्काउट र नारायस्थान बाल क्लबले व्यवस्थापन गरेको छ ।

विसं १९६४ मा यो मन्दिर निर्माण भएसँगै सो समयबाट नै हरेक कृष्ण जन्माष्टमीको दिन जात्रा पनि सञ्चालन हुँदै आएको छ । विभिन्न झाँकी, लाखे नाच, बाजागाजा र भजनकीर्तनसहित कृष्णको प्रतिमालाई रथारोहण गर्दै बजार परिक्रमा गरी प्रतिमालाई सिन्दूरे जात्रासहितसहित मन्दिर प्रवेश गराउने चलन रहँदै आएको छ । दुई दिनसम्म चल्ने यो जात्रामा रातभर भक्तालु व्रत बस्ने गर्छन् भने सांस्कृति कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । खासगरी पञ्चायतकालीन समयमा यहाँ देखाइने सांस्कृतिक कार्यक्रम राजनीतिक चेतनाका हिसाबले अब्बल मनिने गरिन्थ्यो । पञ्चायती निरङ्कुस व्यवस्थाविरुद्ध गरिएका ती सांस्कृतिक कार्यक्रमले स्थानीय राजनीतिक र प्रशासनिक रवैयाको भण्डाफोर मात्र हैन, सिङ्गो व्यवस्थाको बेथितिविरुद्ध धावा बोल्ने गरेको पूर्वसांसद कृष्णराज श्रेष्ठले बताए । त्यसो त यसै मन्दिरको भित्तामा टाँस्ने गरेका गाईजात्रे भित्तेपत्रिकाले पनि तत्कालीन व्यवस्थाको विकृति र विसङ्गतिको उजागर गर्ने गरेको उनको कथन छ ।

अरनिको राजमार्ग बन्नु पूर्व यही मन्दिरको प्राङ्गन भएर बटुवा काठमाडौँबाट तिब्बत आवतजावत गर्ने गथ्र्यो । मन्दिर वरिपरिको पेटीमा बटुवाले थकाइ मात्र मार्दैन थिए, साँझको बखत यसै मन्दिरमा बास बस्ने पनि गर्थे । मन्दिर वरिपरि बटुवालाई थकाइ मार्न बनाइएका चौतारीजस्तो पेटीका कारण नै यस ठाउँको नाम चौतारा रहन गएको बूढापाकाको भनाइ छ ।

सिन्धुपाल्चोकको शैक्षिक गतिविधि प्रारम्भका लागि यो मन्दिरले विशेष भूमिका खेलेको छ । विसं २००४ मा स्थापना भएको जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगङ्गा माध्यमिक विद्यालय यसै मन्दिरको छिडीबाट प्रारम्भ भएको इतिहास पाइन्छ । स्थानीय शिक्षाप्रेमीले स्थानीय केटाकेटीलाई जम्मा गरेर शैक्षिक गतिविधि अगाडि बढाएको र पछि यसै मन्दिरको नामबाट औपचारिकरुपमै विद्यालयको नाम राखेको स्थानीय दीपक प्रधानले जानकारी दिए । तीन तल्ले यो मन्दिरको छिडीबाट २०१२ सालमा स्थपना भएको जिल्लाकै पहिलो पुस्तकालय ग्राम विकास पुस्तकालय सञ्चालन आएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा मन्दिर भत्केपछि पुस्तकालयको सबै संरचना पनि पुरिएको थियो । अहिले पुस्तकालयको नाम निशाना नै छैन ।

भूकम्प पीडित लाभग्राहीले सरकारी अनुदानमा निजी आवास पुनःनिर्माण गरेर नयाँ घरमा बसिसकेका छन् तर भूकम्प गएको पाँच वर्ष कटिसक्दा पनि भगवान् कृष्ण भने अझै टहरोमा नै बस्न बाध्य छन् । ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्व बोकेको यो मन्दिर पुनःनिर्माणका लागि पहलकदमी लिन आवश्यक देखिन्छ ।