पु.समाचार

आज थपिए ६३८ नयाँ सङ्क्रमितः चारको मृत्यु

२७ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आज उपत्यकामा थप १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौँका १२१, लतिपुरका १२ र भक्तपुरका सात सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ बाट थप चारको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् ।

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २०१ रहेको छ ।

अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या २२४ रहेको छ । आइसियुमा ८५ सङ्क्रमित छन् । यीमध्ये तीन जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । देशभर आइसियु श्यया जम्मा ११ हजार ३४ र भेन्टिलेटर जम्मा ५७६ रहेको मन्त्रालयले जनाएको छ । यसैबीच चौधरी पाउण्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आठ भेन्टिलेटर सहयोग प्रदान गरेको मन्त्रालयले जनाएको छ ।