साहित्य

प्रार्थना…..

                                                     -प्रदीप ढकाल                     – कविता

ईश्वर ! मलाई अझै साहसी बनाऊ
आँधीबेहरीमा अडिएको, झरीमा रुझेको,
चट्याङको अग्निज्वाला सहेको, घाममा सेकिएको
अटल सतिसालको रुख जस्तै….

सत्य र असत्य छुट्याउन सक्ने
आफ्नो र पराई चिन्न सक्ने
कुटिलता र सरलता ठम्याउन सक्ने
शान्त दृष्टि देऊ….

ऋषिमनका पाइलाहरू गुफातिरै सोझिन्छन्
कविमनका भावनाहरू एकान्ततिरै दौडिन्छन्
दार्शनिकका आँगनहरू अनन्तमा फैलिन्छन्
तर
अझै पनि मानवताप्रतिको कर्तव्य गर्ने धैर्यता देऊ…
बर्षाद पछि सुन्दर विहानको आशा देऊ
चर्को घाम पछि शीतल झरी देऊ….

आफ्ना सन्ततिलाई दूध होइन,
आँशु पियाउन बाध्य,
आङ ढाक्ने बस्त्रको अभावमा
आफ्ना शिशुलाई आफ्नै छाला ओढाउन बाध्य आमाहरूलाई
सान्त्वना दिने शव्द भण्डार देऊ….
अनन्त यात्रामा निस्केका थकित पथिकलाई
मार्ग देखाउन नक्सा देऊ….

आफू जिवीतै भएको आभाष पाउनका लागि
आफैलाई साक्षी राखेर आँशु झार्नका लागि
एक्लै हुने एकान्त देऊ
करोडौँ मानिसको भीडमा एक्लै रहेरै
हजारौँ माइलको यात्रा छिचोल्ने शक्ति र साथ देऊ…

धर्तीका हरेक पहाडका चुचुरा चढ्छु
आकाशका हरेक पिण्डमा सयर गर्छु
अतीतका हरेक कविसँग डुल्छु
भविष्यका हरेक दार्शनिकसँग बहस गर्छु भन्थेँ
कवि नै बनाएर भए पनि
एकपटक डाँडा माथिको जुनलाई छुन देऊ..