पु.समाचार

वीरगञ्जमा डाक्टर, प्रहरी र थुनुवा सहित ७० जनामा कोरोना संक्रमण पुष्टि

२७ साउन, काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जमा फेरी ठुलो संख्यामा कोरोना पुष्टि भएको छ । चिकित्सक, प्रहरी र थुनुवा सहित ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पर्साका ६५ र बाराका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाईएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार अबेर राति आएको रिपोर्टअनुसार उनिहरुमा संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताएका छन् । उनका अनुसार र संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ जनामध्ये चार जना प्रहरी, चार जना थुनुवा रहेका छन् । नारायणी अस्पतालको क्वाटरमा रहेका ५ वर्षीया बालिका सहित ३ जना, वीरगंज माईस्थानका ३ जना, वीरगंज बिर्ताका ८६ वर्षीया बृद्धासहित ९ जना र छपकैयाका ५ जना रहेको छन् । नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षीय गरी दुई जना डाक्टर र एक जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । तीनै जना नेशनल मेडिकल कलेजका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

त्यसैगरी, संक्रमित हुनेहरुमा वीरगंजको आदर्शनगर, रामटोल, मुर्ली, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघर, लगायतका क्षेत्रका बासिन्दा रहेका छन् । संक्रमित अन्यमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ का १ जना रहेका छन् ।

संक्रमित हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका १ जना, पथलैया र कुटुवा बाराका थप १–१ जना छन् । बारा सिमरा क्वारेन्टाइनका एक जना ४५ वर्षीय पुरुष र निजगढ सशस्त्र प्रहरीका एक जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुलेयता मुलुकैभरी चिकित्सक, प्रहरी लगाएत समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।