अन्तर्राष्ट्रिय

श्रीलङ्कामा विद्यालयहरु पुनः सञ्चालन

एजेन्सी । श्रीलङ्कामा कोरोनाभाइरसका कारण बन्द भएका सवै सरकारी विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारदेखि सुचारु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

स्वास्थ्य निर्देशिका लागु गर्दै सवै तहका विद्यालयको पठन पाठन शुरु गरिएको सरकारी अधिकारीहरुको भनाइ छ । विद्यालय सुचारु गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सवैले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत समेटिएको छ ।

सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनु पर्ने निर्देशिकामा लेखिएको समाचारमा जनाइएको छ । शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न पनि सूचित गरेको छ ।

केही विद्यालयहरु यसअघि गत जुलाईमा पनि खोलिएको थियो । तर सङ्क्रमितको संख्या बढ्न थालेपछि फेरी बन्द गरिएको थियो । श्रीलङ्कामा सोमबारसम्मको विवरण अनुसार देशभरी दुई हजार ८४४ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई हजार ५९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अरु ११ जनाको मृत्यु भएको छ ।