समाचार

कृष्ण जन्माष्टमीले सबै नेपालीमा आपसी प्रेम,करुणा र मैत्रीभावना जागृत गरोस्ः राष्ट्रपति

२७ साउन, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरीन ।

राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गरेकी छिन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उहाँको पूजाआराधना गरी जन्माष्टमीपर्व मनाउने गरिन्छ ।

द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।