अन्तर्राष्ट्रिय

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोभिड १९ सङ्क्रमण पुष्टि

२६ साउन, नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ ।

उनले हालै कोरोनाभाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।
आफूलाई सङ्क्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेख्नुभएको छ, “मलाई आज कोरोनाभाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहेका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।”

भारतमा उमेरले ८० बर्ष पुरा गरेका नेताहरुमध्ये कोरोनाभाइरसबाट सङ्क्रमित भएको उनी पहिलो होइन, यसअघि अरु पनि धेरै बृद्ध नेताहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

केन्द्रीय गृह मन्त्री अमित शाह, राज्य मन्त्री अर्जुन राम मेघवाल, प्रदेशका कृषि मन्त्री कैलाश चौधरीलगायतलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि गरिएको थियो ।

त्यसैगरी तमिल नाडुका गभर्नर बनवारीलाल पुरोहित, मुख्यमन्त्री विएस येडियुराप्पा, कर्नाटक प्रदेशका स्वास्थ्यमन्त्री बी श्रीरामुलुलगायतलाई पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६२ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दैनिक हजारौमा सङ्क्रमण देखिएपनि भारतमा अहिलेसम्म १५ लाखभन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजार सात जनाको मृत्यु भएको जनाएको छ । योसँगै कुल मृतकको सङ्ख्या ४४ हजार ३८६ पुगेको छ ।