बाग्मती

कोरोनाबाट सतर्क रहन भरतपुर महानगरको आग्रह

चितवन, २६ साउन । महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छिन् ।

उनले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेको र यस्तो विषम परिस्थितिमा कोरोनाबाट डराएर होइन उच्च मनोबलका साथ सुरक्षा सजकता अपनाएर मात्र कोरोनाबाट मुक्ति पाउन सकिने उल्लेख गरेकी हुन् ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उहाँले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनको कार्यलाई तीव्रता दिइने जानकारी दिएकी छिन् । महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

बैंक, प्रहरीलगायतका स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् । भरतपुर महानगरको अगुवाइमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरेको थियो । सो अस्पतालपछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घ संस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गरेकी छिन् ।