खेलकुद

फुटबल टिमका खेलाडीको आजदेखी कोरोना परीक्षण हुने

२६ साउन, काठमाडौं । विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण हुने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका खेलाडी परीक्षणबाट गुज्रिने छन् ।

एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ र त्यसका लागि टिममा बोलाइएका खेलाडीमध्ये काठमाडौं बाहिरका ११ खेलाडीलाई होटलमा क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंभित्रका २२ खेलाडी भने आ-आफ्नो घरमै क्वारेन्टाइनमै छन् । एन्फाका अनुसार प्रशिक्षण टिमका सदस्य र कर्मचारीको कोरोना परीक्षण गरिनेछ ।

एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन, मैदान र होस्टल पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका तीन खेल आफ्नो घरेलु मैदानमा खेल्न बाँकी छ ।