प्रदेश 1

तनहुँका विभिन्न क्षेत्रमा समुदायस्तरको कोरोना परीक्षण

दमौली, २६ साउन । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । “समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौँ”, उनले भने, “सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्लामा कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

तीन पक्राउ

गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।

विसं २०७६ चैत ३० गते कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाले म्याग्दे–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएक छन् ।

पक्राउ परेकासहित छ जनाले गोरु चोरी गरेर मासु बाँडीचुँडी खाएको पत्ता लागेको र निजहरुलाई खोजतलास पछि पक्राउ गरी आइतबार जिल्ला अदालतबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिएका छन् ।

“गोठमा बाँधिराखेको गोरुको दाम्लो फुकाई चोरी गरी करिब आधा घण्टा पैदलदूरी एकान्तमा लगी काटेर मासु बाँडेर खाएको अनुसन्धानबाट खुलेको छ”, उनले भने, “गोरुको बाँकी अङ्ग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउन खोजिएको थियो ।”