प्रदेश 1

प्रदेशस्तरीय क्राइसिस म्यानेजमेन्टको निर्णय

२५ साउन, विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको क्राइसिस म्यानेजमेन्ट केन्द्रको प्रादेशिक समितिको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ को महामारीका कारण दिवङ्गत भएका प्रदेश नं १ लगायत सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवार एवं आफन्तजनप्रति समवेदना प्रकट गर्ने र सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेका लकडाउन खुलेपछि कोभिड–१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणसम्बन्धी कार्ययोजना, २०७७ स्वीकृत गरेको, स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मरवाडी सेवा समाज, विराटनर, रङ्गेली नगरपालिका–७ स्थित श्री जनता क्याम्पसको भवनमा र सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम, चतरामा कोभिड–१९ को सङ्क्रमित लक्षणविहीन व्यक्ति राख्नका लागि क्रमशः ५०, १००, ५० र १०० श्यया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेका सन्दर्भमा आइसोलेशन श्ययाको सङ्ख्या प्रदेश सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा एकरएक वटा निजी होटल र निजी अस्पताललाई आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।