पु.समाचार

बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम शुरु गर्न प्रधानमन्त्रीको आग्रह

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायतका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायतका काममा सरकारको तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरे ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको भन्दै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने प्रधानमन्त्रीसमक्ष माग राखेका थिए ।

स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाएको उपप्रमुुख महतोले जानकारी दिए । केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको भन्दै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिने बताएका थिए । सो अवसरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए ।