विचार/ब्लग

महामारीको गहन अध्ययन गरी स्थायी निकास होस्

अम्बिका रुपाखेती(आचार्य)/ अहिले सम्पुर्ण विश्वलाई नै कोरोना भाइरस कोभिड–१९ ले आक्रान्त पारेको छ। विश्वमा सातलाख भन्दाम बढी मानिसले कोरोना संक्रमणका कारण मृत्युवरण गरिसकेका छन् भने लाखौ लाख कोरोना भाइरससङ्ग लडिरहेका छ्न्। बिश्वमा झण्डै दुई करोड मानिसहरु कोरोना भाईरसको संक्रमणको चपेटामा परेका बेला हाम्रो देशका हामी नेपाली पनि कोरोनाको कहरले आक्रान्त नहुने कुरै भएन, पछिल्लो बिबरणअनुसार हाम्रो मुलुकमा २२ हजारभन्दा बढी कोरोना संक्रमणको चपेटामा छौं । विश्वको अरु कोरोना प्रभाबित मुलुककसँग तुलना गर्ने हो भने हाम्रो देशमा कोरोना बाट मृत्यु हुनेको संख्या दर न्युन छ । बिकसित अल्प बिकसित तथा सबै देशहरुले यसबाट बच्ने धेरै थोरै प्रयास गरेको देखिन्छ तर यो प्रयासमा जनताले कति साथ दिए भन्ने कुराले पनि यहां अहम् भुमिका खेलेको देखिन्छ।

यसै क्रममा हाम्रो देशले पनि यसबाट बच्ने प्रयास नगरेको भने होइन। देशको अर्थतन्त्रलाई भन्दा जनताको जीवन ठूलो भन्दै लक्डाउन, संकास्पद व्यक्तिको पिसिआर परीक्षयण गरिरहेको छ र यसलाई हामीले भुल्न हुदैन । सरकारका कोरोना, नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रयासहरु पर्याप्त मात्रामा र योजनाबद्ध ढङ्गबाट नभएको हो कि भन्न भने सकिने प्रशस्त आधारहरु छन् । बिगतमा तीन महिना लकडाउन गरेर आक्रान्त भएको नेपालको अर्थतन्त्रलाई हेर्दा पुनः लकडाउन गर्ने हो भने अगाडी आउने दिनमा कति असर गर्छ यसको अनुमान लगाउन कठीन छ, सीधै भन्नुपर्दा पुनः लकडाउन गर्ने हो भने मुलुकको अर्थतन्त्रको हालत कस्तो हुन्छ त्यो अनुमान लगाउन पनि सकिन्न भन्ने हो ।

यसरी चीनको बुहान प्रान्तलाई उद्गम स्थल बनाएर अघि बढेको कोरोना भाईरस कोभिड–१९ सङ्ग लड्दै गरेका हामीले अहिले सलह कीराले दिएको किसानको दुःखको, बर्षातका कारण बाढीपहिरो अनि डुबानका कारणले अत्यन्तै दुःखपूर्ण जिवनयापनको सामना पनि गर्नु परेको छ। हरेक बर्ष बाढी र पहिरोले कैयौंको ज्यान लगेको छ भने कैयौं परिवार घरवार विहीन भएका छन्। अहिले हामीलाई कोरोना भाईरस, सलह र बाढीपहिरोले तीनै तिरबाट आक्रमण गरिरहेको छ । देश त्यसको लागि पनि योजनाबद्ध ढङ्गबाट तयार हुनु पर्छ भन्ने लाग्दछ। जुन ठाउमा सलह पुगेको छ त्यसठाउमा खेतवारीका बाली सखाप भएको छ भन्ने समाचार आएको छ । त्यसैले त्यस ठाँउका मानिसको दुई छाकको जोहो सरकारले गर्नुपर्ने देखिन्छ। अहिले देशमा अचानक अर्थात कल्पना पनि नगरिएको सङ्कट भनेको कोरोना, बाढीपहिरो, डुबान र सलह नै हो। जसलाई पहिले नै योजना बनाउन कठीन थियो। तर प्रकोप र बाढीपहिरोको विपत भने हाम्रो देशमा वर्षेनी आउने भएकाले यसको लागि भने वर्षा सुरु हुनु भन्दा पहिले नै योजना गर्न सकिन्छ। प्राकृतिक विपत परेपछि राहत बाढ्न हेलिकप्टर चढेर ऊक्त ठाँउको निरीक्षण गर्न सरकारका जिम्मेवार मानिसहरुको प्रबृतिभन्दा बिपत आउने ठाँउको पहिचान गरि बिपत बाट पर्ने मानविय क्षती स्थायी रुपमा कम गर्न लागि पर्नु बुद्धिमानी हो।

पहाडी भेगमा जाने बाढीपहिरो र तराई भेगको बाढी हरेक वर्ष वर्षामा प्रमुख समाचार बनेका छन्। तिनलाई दीइने राहत (खाध्यान्न, पाल, कपडा)का विषयमा पर्याप्त नभएको चामल, कुहिएको बाँडिएको, शरीरमा लाउने नमिल्ने कपडा तथा पाल ठूला व्यक्तिले आफैंले लगेको भन्ने जस्ता ठिट लाग्दा गुनासाहरु यत्रतत्र सर्वत्र सुनिन्छ, देखिन्छ। पीडितहरु कति दिन देखि न खान, सुत्न, बस्न र शरीरमा एकसरो नभिजेको कपडा लगाउन नपाएका परिवारको बीचमा जीउभरी टन्न लुगा लगाएर हेलिकप्टर चढेर अरुको साहरमा छाता ओढेर भोको पेट अनि भिजेर निथ्रुक्क भएका पिडितको सामुन्ने उभिएको देख्दा हामी हेर्नेको मन त अमिलो हुन्छ भने ति परिवारलाई कस्तो होला? त्येसैले निरीक्षणमा खर्च गरिने हेलिकप्टेरको रकमलाई तिनीहरुको आवश्यक्ता पुर्ति गर्नमा मात्र खर्च गरे पनि काम लाग्थ्यो। अब प्राकृतिक बिपत रोक्न पहिल्यै योजना बनाउनु पर्यो। पहिले जस्तो होइन, अहिले त प्रदेश सरकार छ। सिहंदरवारले समस्या हेर्नु पर्दैन, त्यहि ठाउमा त्यहिको स्थानीय सरकार छ। के कारणले कता चुकिएछ, आत्मा आलोचना गरेर अर्को वर्ष त पीँडा कम हुन पर्यो नि, हरेक वर्ष त्यस्तै छ। कतै प्राकृतिक विपत्ति छ कतै यहि वर्षमा सरकारी जग्गामा वसोवस गरेको भनेर सरकारले नै घर भत्काई दिएको छ। पहिले बस्ने ठाँउको जोहो गरेर भत्काउदा के फरक पर्यो। सुकुम्बासीहरु यत्रो वर्ष बसेर केहि भएन, अब वास बनाउने समयसम्म यो वर्षामा बस्न दिएको भए हुने थिया र भन्ने प्रश्न गर्नुपर्ने देखिन्छ । त्यस भित्र विभिन्न कानुनी अड्चन होलन्, विकासका परियोजनालाई सफल बनाउनुपर्ने सरकारको योजना सफल बनाउनुपर्ने होला तर व्यवहारिकतालाई र मानवियतालाई मुख्य रुपमा हेर्नुपर्ने होईन र ?

देशमा आएका प्राकृतिक बिपत्तीबाट बच्ने उपाय पहिचान गर्नका लागि सरकारले हामी कहाँ चुकिरहेका छौं, चुकेको ठाँउको पहिचान गर्न जरुरी छ। सरकारले हरेक वर्ष राहतमा अरबौं रुपैयाँ खर्च गर्न सक्छ, अरु सङ्घसँस्थाको छुट्टै रुपमा सहयोग गरेका छन्, त्यो पाटो हो । सधैं यसरी नै राहत र सहयोगमा नै पैसा खर्चिदा यो भार एक दिन बोकी नसक्नुको नहोला भन्न सकिन्छ। त्यसैले हामीले समस्या पहिचान गरेर दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्ने हो कि? राहतको बिषयमा कुरा गर्दा माछा होइन बल्छि, दिने काम गर्नु पर्दछ। गरिब र पीडितलाई राहत र सहयोग दिएर आशामुखी र अल्छि पो बनाइरहेको छौ कि? काम दिएर सक्षम बनाउने पो हो कि? यसतिर सरकार, सङ्घसँस्थाको ध्यान जान जरुरी देखिन्छ। राहतको आवश्यकता भएको अवस्थामा अवस्य दिनु पर्दछ। प्रकोपबाट बच्ने स्थायी निकासका लागि तत्काल पहल होस् ।