प्रदेश 2

वीरगञ्जमा ६५ वर्षका एक वृद्धको कोरोनाका कारण मृत्यु

२४ साउन, वीरगञ्ज । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जमा फेरी एक पुरुषको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पतालमा गएराति मृत्यु भएका ६५ वर्षका बृद्धमा कोरोना पुष्टि भएको हो । वीरगञ्ज ३ छपकैयाका ति बृद्धको मृत्यु पश्चात गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिएका छन् ।

मृतक वृद्धलाई करिब चारदिन ज्वरो आएर फेरी निको भएको थियो । कोरोना अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको थियो ।

गत बिहीबार राति उनलाई अचानक स्वास लिनमा समस्या भएपछि परिवारकाले एडभान्स मेडिकयर होस्पिटल लगेका थिए । त्यहाँ चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने प्रयास गरेपनि समस्या कम भएन ।

आइसीयुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले राय दिएपछि नेशनल मेडिकल कलेज लैजादा त्यहाँ उनलाई भर्ना लिइएन । त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।