समाचार

नेपालमा फेरी केहिदिन मनसुन सक्रियः आजदेखी देशका धेरै स्थानमा वर्षाको सम्भावना

२४ साउन, काठमाडौं । मुलुकमा केहिदिन देखी रोकिएको वर्षा फेरी सुरु हुने भएको छ । मनसुन सक्रीय भएकाले आजरातिदेखी देशभरका अधिकांस स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको ।

आज रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको हो । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आजदेखी रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुन्छ । मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । तर, लगातार झरी परिरहने छैन ।

आज बिहान प्रदेश नं २ मा र प्रदेश नं। ५ का केही भू–भागहरुमा आंशिक बदली छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।