अन्तर्राष्ट्रिय

भारतको केरमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७

एजेन्सी । भारतको केरल राज्यमा शुक्रबार बेलुकी भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

दुबईबाट आएको एयर इन्डियाको फ्लाइट आइएक्स १३४४ जहाज केरलको कोझीकोड एअरपोर्टमा अवतरण गर्दै गर्दा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका ७ जना सदस्यसहित १९० जना सवार थिए । यात्रुमध्ये १० जना बालबालिका रहेको जनाइएको छ।

घाइते भएका झण्डै १६० जना यात्रीलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। दुर्घटनामा परेका २५ यात्रुको अवस्था गम्भीर छ। शुक्रबार साँझ ७ बजेर ३८ मिनेटमा यो जहाज एयरपोर्टमा अवतरण गर्ने क्रममा थियो ।

त्यतिखेर निकै ठूलो झरी परेको र धावन मार्गमा छुनासाथ विमान रनवेमा चिप्लिएको थियो । दुर्घटनाका कारण दुई टुक्रा भएको जहाजको अघिल्लो भाग नराम्ररी क्षतिग्रस्त भएको छ ।