पु.समाचार

महामारी रोकथामका कदम प्रभावकारीः राष्ट्रपति भण्डारी

२३ साउन, काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरुबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएका हुन् ।

उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा सङ्क्रमितको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिए । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।