बाग्मती

सुरुङमार्ग निर्माणमा स्थानीयवासीलाई प्राथमिकता दिन माग

२३ साउन, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माणमा चन्द्रागिरिवासीलाई प्राथमिकता दिनुपर्ने बताएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो चन्द्रागिरिमा निर्माण हुन लागेको सुरुङमार्गमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा चन्द्रागिरिलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

सुरुङमार्ग निर्माण आयोजना र चन्द्रागिरि नगरपालिकाबीच आज भएको छलफलमा सुरुङमार्ग निर्माणका क्रममा आयोजना र नगरपालिकाबीच हातेमालो गरेर अगाडि बढ्ने सहमति भएको छ । सुरुङमार्ग निर्माणका क्रममा आवश्यक पर्ने सामग्री, जनशक्तिका लागि चन्द्रागिरिका बासिन्दालाई प्राथमिकता दिएर अगाडि बढ्ने विषयमा छलफल भएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको सो सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । मुआब्जा वितरणको काम सकेर गत वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु भएको हो । यस आयोजनाका लागि जाइकाको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको छ अर्ब लगानी रहेको छ । जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ मार्ग निर्माण भएपनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण हुन लागेको यो आयोजना चार वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखाबाट सोही नगरपालिकाको सिस्नेखोलासम्म पुग्ने सो सुरुङमार्गको लम्बाई ५.५६ किलोमिटर रहेको छ ।

तीन हजार पैदल यात्रुलाई निःशुल्क मास्क

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएसँगै चन्द्रागिरि नगरपालिकाले निःशुल्क माक्स वितरण गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बु र समुदाय प्रहरी साझेदारी ११ नम्बर वडा समितिले आज सडकमा माक्स नलगाई पैदल यात्रा गर्नेलाई निःशुल्क माक्स वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का अध्यक्ष हरिभक्त महर्जनले पछिल्लो समय उपत्यकामा कोभिड–१९ को जोखिम बढिरहेकाले बाटोमा हिँड्ने व्यक्तिलाई माक्स वितरण गरिएको जानकारी दिए । नगरपालिकाभित्रका सतुङ्गल बजार, विष्णुदेवी, खरिबोट, सिप्रदी, बालकुमारी, बलम्बु क्षेत्रमा झण्डै तीन हजार पैदल यात्रुलाई हालसम्म निःशुल्क माक्स वितरण गरिसकेको छ ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक खेमराज राउतले अनिवार्य माक्सको प्रयोग गरी, सामाजिक दूरी कायम राखेर यात्रा गर्न सबैलाई आग्रह गरे । प्रहरीले यात्रुलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोर बिजोर प्रणालीअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

यस्तै महानगरीय प्रहरी वृत्त थानकोटले भने माक्स नलगाई हिँड्नेलाई १०० जरिवाना गर्न थालेको छ । सरकारले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बताइरहेको बेलामा प्रहरीले त्यसलाई कार्यान्वयन गर्नका लागि माक्स प्रयोग नगर्नेलाई जरिवाना गर्न शुरु गरेको हो ।

बृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले माक्सको प्रभावकारी कार्यन्वयनका लागि चन्द्रागिरि नगरपालिकाभित्र ‘खै माक्स’ अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । थानकोट प्रहरीले चित्लाङ नाका हुँदै सवारी पासबिना उपत्यका प्रवेश गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकलाई कारबाही गर्दै आएको छ । प्रहरीले सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरेको प्रनाउ श्रेष्ठले बताए ।

हालसम्म थानकोट प्रहरीले बिना पास उपत्यका भित्रिने २८ सवारी चालकलाई कारबाही गरिसकेको छ । आगामी दिनमा पनि उक्त अभियानलाई निरन्तरता दिने वृत्तले जनाएको छ ।