बाग्मती

कर्मचारी भन्छन्ः भक्तपुर क्यान्सर अस्पताल बचाइदेऊ

२३ साउन, भक्तपु । दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानमा समितिका संयोजक नवराज गेलालको नेतृत्वमा अस्पतालमा गएको अनुगमन टोलीसँग अस्पतालका कर्मचारीदेखि बिरामीले अस्पताल सरकारले लिएर बचाइदिन आग्रह गरेका हुन् । बिरामीलाई सस्तो र सुलभ उपचार दिने उद्देश्यले विसं २०५१ मा क्यान्सर रोग विशेषज्ञ स्व डा अञ्जनीकुमार शर्माको नेतृत्वमा सञ्चालिन भक्तपुर क्यान्सर केयर सेन्टरलाई नेपाल अर्बुद्ध रोग निवारण संस्थाले भक्तपुर क्यान्सर अस्पतालको नाममा सञ्चालन गर्दै आएको थियो ।

संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै विवाद भएपछि भक्तपुर नगरपालिकाले श्रेष्ठ नेतृत्वको समिति खारेज गरेको घोषणा गरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको एक वर्ष पुगेको छ ।

त्यसपछि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा अझै छिनोफानो भएको छैन भने अन्योलमा रहेका कर्मचारी भक्तपुर क्यान्सर अस्पताललाई सरकारले जिम्मा लिएर जोगाउनुपर्ने बताउँछन् । अनुगमनको क्रममा जिसस प्रमुख गेलालले अस्पताल सञ्चालनमा समस्या रहेको, पारदर्शी र जवाफदेशी हुन नसकेको र साझा अस्पताल बन्न नसकेको बारे जिज्ञासा राखेपछि अस्पतालका निर्देशक डा ऋषिकेशकुमार श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताललाई अब सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, “सरकारी जग्गामा एउटा एनजिओले अस्पताल चलाएको छ, अस्पतालमा व्यापक भ्रष्टाचार भएको कुरा उठाउँदा उल्टै हामी माथि प्रश्न ? यो सरकारको अस्पताल हो, सरकारले जिम्मा लिओस्, स्वामित्व लिओस्, सरकारले अस्पताल बचाओस्, अरु हाम्रो कुनै स्वार्थ छैन ।” विसं २०५९ देखि श्रेष्ठको आठ जनाको एउटै समितिले अस्पताल कब्जा गरेर व्यापक भ्रष्टाचार गर्दा पनि सरकारले वास्ता नगरेको बताउँदै उनले अहिले अस्पताल बेवारिसे अवस्थामा सञ्चालन भइरहेको बताए ।

“यहाँभित्र कति भ्रष्टाचार थियो, छानबिन होस्, यथार्थ बाहिर आउँछ, देशभरिका २० प्रतिशत क्यान्सर बिरामीको उपचार हुने यो अस्पताल भ्रष्टाचारले डुब्यो, जोगाउनु प¥यो भन्दै कर्मचारी दैलोदैलो चाहार्दै हिँड्नुपर्ने ?”, निर्देशक डा श्रेष्ठले भने, “म डाइरेक्टर बन्नलाई भनेको होइन, अस्पताल जोगियोस्, सरकारले स्वामित्व लिओस्, म त भोलि छाडेर जान तयार छु ।”

वर्षमा ३८ हजारसम्म बिरामीको उपचार हुँदै आएको, देशका अधिकांश जिल्ला र विदेशबाट समेत उपचारका लागि बिरामी आउने गरेको बताउँदै उनले अहिले पनि दिनमा ५०० बिरामी आउने गरेको र पाँच वटा शल्यक्रिया नियमित भइरहेको बताए । सरकारको सहयोग नहुँदा अस्पताल अहिले आफैँ कमाएर बाँच्नुपर्ने भएकाले निजी अस्पतालभन्दा उपचार सस्तो भए पनि भरतपुर क्यान्सर अस्पतालभन्दा ३० देखि ४० प्रतिशत महँगो शुल्क लिनुपर्ने बाध्यता रहेको छ भन्छन् डा श्रेष्ठ । सरकारी जग्गा, दाताले बनाइदिएको भवन अब अस्पताल पनि सरकारले नै सञ्चालन गरे बिरामीले धेरै सहुलियतमा उपचार पाउने कर्मचारीको भनाइ छ ।

निर्देशक डा श्रेष्ठ भन्छन्, “यहाँ आउने बिरामी सरकारी अस्पताल भनेर आउँछन्, तर अस्पताल मागेर बाँच्नुपर्ने अवस्थामा छ, अस्पताल आफैँ अपाङ्ग बनेको छ, भरतपुर क्यान्सर अस्पतालमा एक अर्ब २४ करोडको बजेट, यहाँ खै ?, त्यसैले अस्पताल अब सरकारले नै लिएर चलाउनु पर्छ ।” अस्पतालका प्रशासक राजाराम तजलेले क्यान्सरका सबै उपचार हुने यो अस्पताल १२६ श्ययामा सञ्चालन भएको र कोरोना सङ्क्रमणको विषम परिस्थितिमा पनि एक दिन अस्पताल बन्द नगरी नियमित सेवा एवं शल्यक्रिया जारी राखेको बताए ।

जिसस प्रमुख गेलालले सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा यो अस्पताल सरकारले चलाउने कि भक्तपुर नगरपालिकाले चलाउने भन्ने अन्योल रहन नहुने बताए । जहाँ समस्या त्यहाँ सरकारको उपस्थिति हुनुपर्छ भन्दै उनले तथ्य, प्रमाण एकै ठाउँमा लिएर एउटै आवाज बोकेर सबै एकैसाथ सरकारसम्म पुग्नुपर्ने प्रमुख गेलाल बताए ।