प्रदेश 1

कोशी अस्पतालमा कोरोना संकास्पद व्यक्तिको मृत्युः कोरोना परिक्षण गरिँदै

२३ साउन, काठमाडौं । कोशी अस्पतालमा कोरोना संकास्पद एक व्यक्तिको मृत्यु भएको छ ।कोरोना भाइरसको आशंकामा विराटनगरको कोशी अस्पतालमा उपचारका लागि ल्याइएका एक मारवाडी समुदायका पुरुषको आज मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय जयप्रकाश अग्रवालको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले बताएका छन् ।

उनकाअनुसार मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कोरोना शंकास्पद पुरुषको शव अहिले अस्पतालकै आइसोलेसनमा राखिएको छ । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि आज बिहान उपचारका लागि कोशी ल्याइएको जानकारी उनले दिए ।

मृतकमा लामो समयदेखि उच्च रक्तचापको पनि समस्या रहेको पाइएको छ । कोशी अस्पताल ल्याउनुअघि बिरामीको उपचार गर्ने निजी स्वास्थ्य संस्थाको पहिचान भइनसकेका कारण पत्ता लगाउने काम भइरहेको जानकारी उनले दिए ।

मृतकमा कोरोनाको आशंका गरिएका कारण स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको उनको भनाइ छ । पिोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो पुष्टि हुने उनले बताए ।