खेलकुद

सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

२३ साउन, एजेन्सी । रोमालाई हराउँदै सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० ले हराएको हो ।

अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाबिरुद्ध स्पेनिस क्लब सेभिल्लाले पहिलो हाफमै दुई गोल गरेको थियो । पाँच पटकको च्याम्पियन सेभिल्लाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ ।

खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए । रियल मड्रिडबाट लोनमा सेभिल्ला पुगेका सर्जियोको गोलसंगै टोलीले अग्रता लिएको थियो । यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जित सुनिश्चित गरेका थिए ।

पहिलो लेगको खेल कोरोनाले प्रभावित बनेपछि युरोपा लिगको बाँकी खेल जर्मनीमा सञ्चालन गरिएको छ । सेभिल्ला पछिल्ला १८ खेलमा अपराजित रहेको छ । अन्य क्लब भन्दा उसले धेरै पटक प्रतियोगिता जितेको छ । क्वार्टरफाईनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि समेत जितेको छ ।

अर्को खेलमा बायर लिभरकुशनले रेञ्जरको १३ महिनाको युरोपा लिगको यात्रामा पूर्ण विराम लगायो । रेञ्जर पहिलो पटक अन्तिम १६ मा छनोट भएको थियो । मार्च १२ मा भएको पहिलो लेगको खेलमा लिभरकुशनले ३–१ को अग्रता बनाएको थियो । दोस्रो लेगको खेलमा रेञ्जरले कुनै चुनौती दिन सकेन ।

काई हाभट्र्जको प्रहार बारमा लागेर फर्किएको खेलमा मौसा डायबीले एकमात्र विजयी गोल गरे । लिभरकुशन समग्रमा ४–१ को नतिजा सहित क्वार्टरफाईनल प्रवेश गर्न सफल रह्यो ।लिभरकुशनले सोमबार क्वार्टरफाईनलको खेलमा सिरि ए क्लब ईन्टर मिलानसंग खेल्नेछ ।