स्वास्थ्य

यस्तो छ, बच्चाका लागि आमाको दुधको महत्व !

सितला देवी शर्मा/हरेक बर्ष अंग्रेजी महिना अगस्टको पहिलो हप्तालाई नेपाल लगायत विश्वभरि नै बिश्व स्तनपान सप्ताहको रुपमा मनाइदै आइरहेको पाईन्छ । बच्चा जन्मेको एक घण्टा भित्र आमाको बिगौती दुध चुसाउनु बच्चा आमा दुबैका लागि फाईदाजनक हुन्छ । बच्चा ६ महिना पुरा नभएसम्म आमाको दुध मात्र चुसाउने र २ बर्षसम्म थप खानाकोसाथ आमाको दुध चुसाई राखियोस भनेर आमा र परिवारलाई उत्साह दिन यस्तो खालको कार्यक्रम गर्ने गरिन्छ । आमाको दुधमा बच्चालाई चाहिने प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने भएकोले बच्चाकोलागी आमाको दुध नै पहिलो र प्रमुख आहारको रुपमा लिइन्छ।

यसरी आमाको दुध चुसाउदा बच्चा र आमा दुवै जनालाई शारीरिक र मानसिक रुपले फाईदा हुन्छ । कतिपय आमाहरुले कामको व्यस्तता र अन्य कारणले बच्चालाई आफ्नो दुध नचुसाई बाहिरी दुध जस्तोः बट्टाको, गाई वा भैंसीको दुध खुवाउने गरेको पाईन्छ तर यस्तो गर्नु बच्चा र आमा दुबैको लागी राम्रो हुदैन । यदि कुनै कारणवश आमाको दुध आएन र बच्चाले दुध चुस्न सकेन भने मात्र बाहिरको दुध खुवाउन सकिन्छ । आमाको दुधलाई बच्चाको पहिलो खोपको रुपमा लिईन्छ । बच्चा जन्मेको ६ महिनासम्म पानी समेत खुवाउन आबश्यक पर्दैन किनकी बच्चालाई चाहिने पानी आमाको दुधमै हुने हुनाले बाहिरको पानी चाहिदैन । बच्चालाई आमाको दुधबाट हुने फाईदाहरुः १. आमाको दुधमा बच्चालाई आबश्यक पर्ने सम्पूर्ण भिटामिनहरु र पौष्टिकतत्वहरु पाईन्छ । २. बच्चाले रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति प्राप्त गर्छ, ३. बिभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउछ, ४. बच्चाको शारीरिक र मानसिक विकास राम्रोसँग हुन्छ, ५. बच्चाको वजन बढ्न मदत गर्छ ६. बच्चा स्वस्थ र स्फुर्ति देखीन्छ, ७.बच्चाको दिशा कडा हुदैन ।
आमालाई हुने फाईदाहरु
१. बच्चा जन्मनासाथ दुध चुसाउदा आमाको बच्चा जन्माउने अंगहरु पुन पुरानै अवस्थामा फर्कन मदत गर्छ । २. आमाको वजन बढ्न दिदैन, ३. आमालाई बिभिन्न किसिमका क्यान्सर रोग (जस्तोः स्तन क्यान्सर, ओभरीएन क्यान्सर, इन्डोमेटरियम क्यान्सर) हरुबाट बचाउछ, ४. छिटो छिटो बच्चा जन्मने जन्मान्तरको बिचको समय लामो हुन्छ । फलस्वरूप परिवार नियोजनको काम हुन्छ, ५ . बच्चालाई काखमा लिएर दुध चुसाउने र संगै बस्ने हुँदा आमा र बच्चाको भावानात्मक सम्बन्धलाई मजबुत बनाउने हुनाले मातृत्वको प्रेम बढ्छ र आमालाई डिप्रेशन हुनबाट बचाउछ ।
६. परिवारलाई खर्च कम पर्छ, ७. यो परमेश्वरबाट बनेको प्राकृतिक खाना हो जो अतयन्तै स्वस्थकर र जति बेला पनि खुवाउन मिल्ने हुन्छ ।(शर्मा हाल धनुषाको लालगढ़ अस्पतालमा कार्यरत छिन् ।)